सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा भएको छ । यससँगै अब सिद्धकुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्लीबजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको छ ।
कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट राजधानी जोड्ने वैकल्पिक सडक निर्माण गरिएको हो । कर्णाली प्रदेश सरकारको रु ७५ लाख र सिद्धकुमाख गाउँपालिकाको रु एक करोड २५ लाख लागतमा सडक निर्माण गरिएको हो ।
सिद्धकुमाख गाउँपालिकाको ढोरचौर, उचाल्ने खार्वन हुँदै सागिनेसम्मको सडक निर्माण गरेपछि वैकल्पिक सडक निर्माण पूरा भएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चालाउनेले जानकारी दिए ।
जिल्लामा सदरमुकाम खलङ्गाबाट बालुवासङ्ग्रही सडकको प्रयोग गरेर मात्रै सुर्खेत जान सकिने अवस्था भए पनि अब खलङ्गामा नगएरै सिधैँ ढोरचौर सल्लीबजार हुँदै सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले जानकारी दिए ।
“सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्र्याक खोलिएको छ, अहिले साना सवारी साधन चलिरहेका छन्”, अध्यक्ष चलाउनले भने ।
सडक निर्माण शुरु गरेको तीन वर्षपछि सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाका वडा नं ४ मा पर्ने सागिने पनि पहिलोपटक सडक सञ्जालमा जोडिएकोे छ । आफ्नै वडा भएर प्रदेश राजधानी जोड्ने सडक सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।
भौगोलिक विकटताका बाबजुद पनि सडकको ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको स्थानीय घनबहादुर चलाउनेले बताए । गाउँ सडक सञ्जालमा जोडिएसँगै प्रदेश राजधानी जाड्ने मार्ग पनि यही भएकाले गाउँपालिकाको महत्वपूर्ण सडक भएको उनको भनाइ छ । प्रदेश राजधानी जोड्न यो सडक निकै छोटोमार्ग भएको उहाँले जानकारी दिए ।
वैकल्पिक सडकको निर्माण काम सकिएपछि अब स्तरोन्नतिको लागि सरकारले तत्काल काम शुरु गर्नुपर्ने स्थानीयको भनाइ छ । वनगाडखोला, डाँसीखोलालगायतका खोलामा पक्कीपुलसँगै बाह्रै महिना गाडी सञ्चालनका लागि सडक स्तरोन्नतिको काम अगाडि बढाउनुपर्नेमा स्थानीयको जोड रहेको छ ।
प्रतिक्रिया