प्रदेश सरकारको लगानीमा खानेपानी ट्यांकी निर्माण हुँदै

आइतबार, ३२ जेठ २०७७, ११ : ३१

 बन्दाबन्दीका बेला प्रदेश सरकारको लगानीमा खानेपानी ट्यांकी निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा मस्र्याङ्दी गाउँपालिका –९ मा सिग्ले खानेपानी ट्यांकी निर्माण धमाधम भइरहेको छ । सानोठूलो गरी ५६ घनमिटरको ट्यांकी निर्माण भइरहेको मस्र्याङ्दी गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको एक घर एक धारा अभियानअन्तर्गत ट्यांकी निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । निर्माणाधीन ट्यांकी पाँच र दश घनमीटरका दुईदुई तथा १२ र  १४ घनमिटरका एकएक ट्यांकी निर्माण भइरहेको गाउँपालिकाका इञ्जिनीयर सुरेश गौतमले बताए । उनका अनुसार सो ट्यांकी निर्माणका लागि प्रदेश सरकारको रु ६९ लाख ४७ हजार १६७  लागत लाग्ने छ  ।
 
ट्यांकी निर्माण र पाइप बिच्छाउने गरी हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । मोती कन्स्ट्रक्सनले  आयोजनाको निर्माण सम्झौता २०७६ साल फागुन २२ गते गरी आगामी असार मसान्तभित्र काम सक्ने अवधि तोकिएको थियो । सम्झौतानुसार भने काम सम्पन्न नहुने देखिन्छ ।  

ट्यांकी निर्माण सम्पन्न भएपछि  वडाका भलामचोर, महथोक, तबै, ढाड र  वनथोक गाउँका १५० घरधुरी लाभान्वित हुने जनाइएको छ । उक्त गाउँमा एक घर एक धारा जडान हुनेछन् । 

आइतबार, ३२ जेठ २०७७, ११ : ३१

प्रतिक्रिया