सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार

सोमबार, ०१ असार २०७७, १३ : ०४

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । 

बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । 

सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । 

सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । 

 सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए ।
 
सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । 

रु ५८ करोड लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको बिस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । 

सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले गुनासो गरे । 

यसैबीच जोरपाटी चोकबाट सुन्दरीजलतिर जाने मुखका स्थानीयवासी मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि हाल त्यहाँको काम रोकिएको छ ।


अन्य स्थानमा भने हाल सुरक्षाका विधि अपनाएर एक समूहमा १० जना मानिसले गर्ने एवं यन्त्रले गर्न सकिने ढलका लागि हिमपाइप राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यहाँभन्दा बढी कामदार जम्मा हुने काम भने हुन सकेको छैन । 

वर्षा अघि नै सडकमा ग्राभेलसम्म गर्न सकिने गरी काम अघि बढाइएको नगरपालिका वडा नं। ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाए ।

 ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । 

निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएको बताउछन । 

यही महीना काम सकिनुपर्ने भएपनि हालसम्म मुस्किलले ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ ।
 

सोमबार, ०१ असार २०७७, १३ : ०४

प्रतिक्रिया