पाल्पा जिल्ला सदरमुकाम तानसेनमा रहेको बसपार्कमा पार्किङ गर्न समस्या परेपछि नयाँ बसपार्क निर्माण शुरु भएको छ । यसका लागि वन क्षेत्रका रुख कटानको काम शुरु गरिएको छ ।
तानसेन नगरपालिकालाई वनदेवी सामुदायिक वनको १०० रोपनी क्षेत्रफल जमिनको स्वामित्व हस्तान्तरण गरेपछि बसपार्क निर्माण अगाडि बढेको हो । रुख कटान र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
चालू आर्थिक वर्षमा सडकमा छरिएर रहेका सवारी साधनलाई पार्किङ गर्न मिल्ने गरी बसपार्क निर्माणलाई तीव्रता दिने नगर प्रमुख अशोककुमार शाहीले बताए ।
बसपार्कको समस्यालाई समाधान गर्न दीर्घकालीनरूपमा व्यवस्थित तरिकाले निर्माण गरी यसै वर्षमा सम्पन्न गर्ने उनले जानकारी दिए ।
वातावरणमैत्री धेरै सवारी साधन राख्न मिल्ने खालको बसपार्क निर्माण हुने नगरपालिकाको वातावरण तथा सरसफाइ शाखा प्रमुख शङ्कर भण्डारी बताए ।
नयाँ बसपार्क बन्ने भएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्ले बताए ।
ठूला ५०० सवारी साधन अट्ने क्षमता, पेट्रोलपम्प, ग्यारेज, उद्योग, यातायात मजदुरको सुविधाका लागि होटलसहित सुविधासम्पन्न बसपार्क निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया