नेपालको राष्ट्रिय सभाले कालापानी, लिपुलेक र लिम्पियाधुरा देखिने निशान छाप देखिनेगरी संविधान संशोधन गर्ने विधेयक सर्वसम्मतिमा पारित गरेको छ।
प्रतिनिधिसभाबाट पारित भएपछि उक्त विधेयक राष्ट्रिय सभामा पठाइएको थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान सम्पन्न भएपछि भने, "नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित गरियोस् भनी राखिएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा ५७ मत परेको छ।"
अध्यक्ष तिमिल्सिनाले भने,"संविधान संशोधनको प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मत पारित भएको घोषणा गर्दछु।"
कुल ५९ सदस्यीय राष्ट्रिय सभामा ५७ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए।
राष्ट्रिय सभा अध्यक्षले मत दिन नमिल्ने र एक सदस्य मनोनीत हुन बाँकी भएकाले राष्ट्रिय सभामा मतदान गर्ने कुल सदस्य सङ्ख्या ५७ नै हो।
प्रतिनिधि सभामा उपस्थित सबै सांसदले उक्त संविधान संशोधन विधेयक जेठ ३१ गते शनिवार पारित गरेको थियो।
दुवै संसद्बाट पारित भएपछि अब उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक कानुन बन्नेछ।
प्रतिक्रिया