अंगीकृतका लागि सातवर्षे प्रावधान कांग्रेसले अस्वीकार गर्ने

आइतबार, ०७ असार २०७७, १३ : ३१

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई नमान्ने निर्णय गरेको छ । 

सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने निर्णय गरेको थियो । नागरिकताबारे नेकपाको निर्णयपछि आइतबार बिहान कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको हो । 

‘यसअघिदेखि नै धेरै कुरालाई विचार गरेर नै नेपाली नागरिकसँग विवाह गर्ने महिलालाई अंगीकृत नागरिकता दिइँदै आएको थियो,’ कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘यसैले हामीले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संविधानअनुसार पुरानै व्यवस्थाअनुसार अंगीकृत नागरिकता दिनुपर्छ भन्ने अडान राख्ने भएका छौँ ।’

आइतबार बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसदको तयारीअनुसार कसरी प्रस्तुत हुने भन्ने तय हुने अर्का नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । ‘आज दिउँसो २ बजे राज्य व्यवस्था समितिको बैठकमा नेकपाको सांसदहरूको तयारी कस्तो हुन्छ त्यसैअनुसार हामी अघि बढ्छौँ,’ सिटौलाले भने, ‘नोट अफ डिसेन्ट लेख्ने वा अरू विरोध गरेर जाने भन्ने नेकपाको व्यवहारमा भर पर्छ ।’ 

नेकपाले सल्लाह गर्न खोजेकोजस्तो गरी पेलेर जाने नीति लिएको भन्दै सातवर्षे प्रावधानमा सहमत हुन नसक्ने निर्णय कांग्रेसले गरेको उनले बताए । 

सभापति देउवाले पनि बैठकमा प्रचलित व्यवस्थाअनुसार नै अंगीकृत नागरिकता दिनुपर्ने मत राखेका थिए । संविधानअनुसार नै नागरिकता दिँदा कसैलाई पनि अन्याय नहुने मत कांग्रेसले अघि सारेको छ ।

आइतबार, ०७ असार २०७७, १३ : ३१

प्रतिक्रिया