जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि रु नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् ।
एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ ।
स्थानीय तहले सामान्य ढङ्गबाट परिषद् गरिरहेका छन् । अतिथिसमेत नवोलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
जसमा रु चार अर्ब १५ करोड ६४ लाख बजेट सार्वजनिक गरिएको छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ ।
रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु एक अर्ब १४ करोड बजेट ल्याएको छ ।
नगर प्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिइएको बताए । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ का लागि रु ७७ करोड ८५ लाख बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।
यस्तै राप्ती नगरपालिकाले रु ८२ करोडको बजेट ल्याएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन ।
यसपटक राप्तीका पहाडी वडाले रु एक करोड ५० लाखसम्म पाएका छन् । राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।
माडी नगरपालिकाले रु ८८ करोड ७० लाखको बजेट ल्याएको छ ।
यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ ।
कालिका नगरपालिकाले २०७७र७८ का लागि रु एक अर्ब चार करोड ९२ लाखको बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ ।
इच्छाकामना गाउँपालिकाले यसपटक रु ५६ करोड ९६ लाख बजेट ल्याउँदै छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताइन ।
बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिइन । गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ ।
गैँडाकोट क्षेत्रभित्र सफा र स्वच्छ खानेपानीको व्यवस्था, कच्ची सडकको स्तरोन्नति गर्दै कालोपत्रे सडकको मर्मत गरी खाल्डाखुल्डीमुक्त बनाउने नगरपालिकाको योजना छ । एक घर एक बिरुवा, एक वडा एक हरियालीपार्क नगरपालिकाको प्राथमिकतामा छ ।
नारायणी नदी किनारमा स्नानस्थल र शवदाहस्थललाई थप व्यवस्थित गर्दै लैजाने र नारायणी तटीय क्षेत्रको व्यवस्थापन प्रक्रियालाई वैज्ञानिकरुपमा अघि बढाइने नीति अघि सारिएको छ । गैँडाकोट चक्रपथ र नगरभित्र विद्युत् विस्तरलाई पूर्णता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नदी तथा खोलाको कटान र बाढी नियन्त्रणमा नगरपालिकाले काम गर्नेछ । भौगोलिकरुपमा विकट रहेका वडा नं ३, १४ र १८ लाई पूर्वाधार विकास सेवा प्रवाह सहजीकरणका लागि नगरपालिकाले प्राथमिकता दिएको छ ।
यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेका कर, दस्तुर सेवा शुल्कका क्षेत्रको दायरा फराकिलो गर्दै नगरको स्रोत परिचालनमा सबै क्षेत्र र वर्गका नगरवासीले आफ्नो क्षमताअनुसार योगदान गरेको महसुस गराइने नीतिगत व्यवस्थ गरेको नगरपालिकाले जनाएको छ ।
–––
प्रतिक्रिया