कृषकलाई खाडल अनुदानसहित ६० हजार फलफूलका बिरुवा

शुक्रबार, १२ असार २०७७, ०८ : ४२

पर्वतको फलेवास नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदानसहित बिरुवा वितरण गर्न थालेको छ । 

बिरुवा मात्र अनुदानमा दिँदा कृषकको ‘एक हातमा कुटो र अर्को हातमा बिरुवा’ हुने तर तरिकाले बिरुवा नरोप्ने समस्या बढेपछि खाडल खन्नका लागिसमेत आर्थिक सहयोग गर्ने भएको हो ।

चालु आर्थिक वर्षमा खाडल अनुदानसहित फलफूल बिरुवा अनुदानमा उपलब्ध गराएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । 

नगरपालिकाले गत मङ्सिरमा कृषकलाई सूचना जारी गरी आवश्यक बिरुवाको माग सङ्कलन गरी वैशाखसम्ममा खाडल खनिसक्नुपर्ने सूचना जारी गरेको थियो ।

 उक्त खाडलको अनुगमन सामाजिक अभियान्ता, जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले  वैशाख २१ गतेबाट ३० गतेसम्म गरेको थियो ।

 उक्त खाडलको अनुगमनको आधारमा नगरपालिकाले आँप, लिची, सुन्तला र कागतीका बिरुवा अनुदानमा कृषकलाई उपलब्ध गराएको छ । 

नगरपालिकाले दुई हजार आँप, दुई हजार लिची, १५ हजार कागती र ४० हजार सुन्तला वितरण गरेको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । 

त्यसैगरी नगरका पाखो बारीमा फलफूल रोपी नगरलाई फलफूलमा आत्मनिर्भर बनाई कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले समग्र नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउने नीति लिएको नगरप्रमुख शर्माले बताए ।  

करिब रु २० लाखको लागतमा सञ्चालन गरिएको यस कार्यक्रममा खाडल अनुदान सुन्तला कागतीको रु १५ लिची को रु २५ र आँपको रु ३० रहेको छ । 

त्यसैगरी कृषकले कागती ४–५ मिटर, सुन्तला ५–६ मिटर र आँप लिची ८–१० मिटरको दूरीको फरकमा सुन्तला कागतीको लागि २ दशमलव ८२ फिटको खाडल र आँप लिचीको लागि ३ दशमलव ८३ फिटको खाडल खनेपछि मात्र खाडल अनुदान पाउने छन् ।

 आँप अम्रपाली, लिची सिडलेस,  कागती सुनकागती–१ र सुन्तला स्थानप्य जातका बिरुवा वितरण गरिएको नगरपालिका कृषि अधिकृत सुवेदीले जानकारी दिए । 

कृषिमार्फत समृद्धि हासिल गर्नका लागि नगरले प्रत्यक्षरुपमा कृषकलाई लाभ पुग्ने खालका कार्यक्रम अघि सारेको छ । 

नगरले आगामी आर्थिक वर्षका लागि पनि ‘एक घर, एक बगैँचा’ र ‘क्लिन फलेवास ग्रिन फलेवास’लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन ।

शुक्रबार, १२ असार २०७७, ०८ : ४२

प्रतिक्रिया