निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले मस्र्याङ्दी गाउँपालिकालाई रु १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ ।
सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो ।
स्थानीय सरकार ऐन २०७४ मा व्यवस्था भएबमोजिम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई उनकै कार्यकक्षमा बुटवल पावर कम्पनी लिमिटेडका उपमहाप्रबन्धक टीकाराम भट्टले सो रकमको चेक हस्तान्तरण गरे ।
गाउँपालिकाभित्र सञ्चालित योजना वा आयोजनाले प्राकृतिक स्रोतसाधन उपयोग गरेवापत रोयल्टी उठाइने प्रावधानबमोजिम गाउँपालिकाले उक्त रकम लिएको अध्यक्ष गुरुङले बताए ।
सो आयोजनाको निर्माण थालिएदेखि ढुङ्गा, गिटी, बालुवालगायत वस्तु उपयोग गर्दै आएकाले रोयल्टीवापतको सो रकम गाउँपालिकालाई उपलब्ध गराइएको उनको भनाइ छ ।
अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका –६ मा निमार्णाधीन आयोजनाले विसं २०७३ चैतदेखि काम गर्दै आएको छ ।
अनुमानित रु ६ अर्ब लागतमा निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ ।
प्रतिक्रिया