घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल छ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । विसं २०७१ मा निर्माण सम्झौता भएर दुई वर्षमा सम्पन्न हुने गरी काम शुरु भएको सो पुल छ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा आवतजावतमा समस्या देखिएको छ । यस अवधिमा दुई पिल्लर मात्र निर्माण भएका छन् ।
पुल निर्माणको ठेक्का लगाउने मध्यपश्चिम डिभिजन सडक कार्यालयमा चार प्रमुख फेरिइसकेका छन् तर पुल निर्माणले गति लिन सकेको छैन । रु चार करोड ३५ लाख लागतमा बन्ने सो पुल विसं २०७३ असोजमा सक्ने लक्ष्य लिइएको थियो । शङ्कर माली निर्माण सेवाले सो पुल निर्माणको जिम्मा लिएको थियो । कम्पनीका स्थानीय प्रतिनिधिका रुपमा निर्माण व्यवसायी पद्मप्रसाद शर्माले पुल निर्माणको जिम्मा लिएका थिए । पिल्लार निर्माणसँगै ढलान गर्ने अन्तिम तयारी भइरहेका समयमा सरकारले पुलको सुपर स्ट्रक्चर नमिलेको जनाउँदै ढलानको काम रोकेको शर्माले जिकिर गरे ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख नीरज शाक्यले पुल निर्माणमा विशेष चासो लिइएको बताएका छन् “पुलको सुपरस्ट्रक्चर डिजाइन फाइनल गर्न काठमाडौँ आएको छु, सम्भवतः वर्षा सकिनेबित्तिकै पुल निर्माणको काम शुरु हुनेछ”, शाक्यले भने । कम्पनीले दिएको डिजाइनलाई केही परिमार्जन गरी चाँडै डिजाइन स्वीकृत गराएर आफू दाङ आउने जनाउँदै उनले अर्को वर्षा अगाडि पत्रेखोलामा पुल निर्माण सम्पन्न भइसक्ने बताए । आधा काम गरिसकेको कम्पनीलाई ठेक्का तोडेर अर्कोलाई दिँदा विभिन्न कानूनी समस्या आउने तथा काममा ढिलाइ हुने भएकाले पुरानै निर्माण कम्पनीसँगको ठेक्का यथावत् राखिने शाक्यको भनाइ छ ।
प्रतिक्रिया