जीवनमा उज्यालो फैलाउने गुरूको सम्झना गर्ने दिन आज, १८ पुराण रचना गर्ने वेदव्यासको जयन्ती पनि आजै

आइतबार, २१ असार २०७७, ०८ : ४८

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 
     
 अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–     
     
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।     
 गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।     
     
 माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।     
     
 गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।     
     
 व्यास जयन्ती पनि  आजै 
     
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।     
     
 व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजिएको छ–     
 ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।     
 परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।     
     
 अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्

तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।    
    
नगरपालिकाको ३२आँै नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।   
    
गुरु पूर्णिमाको अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ । तनहुँका स्थानीय तहहरुले विभिन्न पर्व, दिवसलगायतका अवसरमा सार्वजनिक बिदाको निर्णय गर्ने गरेका छन् । 

आइतबार, २१ असार २०७७, ०८ : ४८

प्रतिक्रिया