लमजुङको भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा

शुक्रबार, २६ असार २०७७, ११ : ३४

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर  जोखिममा परेको वडा सचिव तक्मा विकले बताए ।

उनका अनुसार भोंजेगाउँका  गमबहादुर कामीको घरको पिंँढी र  आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ । 

यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले  अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ  । 
गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको  छ । उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ । 

शुक्रबार, २६ असार २०७७, ११ : ३४

प्रतिक्रिया