क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगपालिकामा सडक निर्माणका लागि आयोजना र निर्माण कम्पनीबीच आइतबार सम्झौता भएको छ ।
क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परीक्षित कडरिया र कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा सात वटा सडक निर्माण हुने सम्झौतामा उल्लेख छ ।
पहिलो चरणमा गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि कैलाली नाला (एक हजार ३८० मिटर), हुलाकी सडक–क्याम्पस रोडदेखि जाखोर ताल ९७०० मिटर), क्याम्पस रोड–चटकपुर (तीन हजार ६५० मिटर), धनगढी–खुटिया स्याउले रोड ९८७ मिटर), मालपोत रोड ४३० मिटर र हसनपुर रोड एक हजार १५० मिटर रहेको छ ।
नगर प्रमुख नृपबहादुर वडले निर्माण कम्पनीसँग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरेकाले कार्यान्वयनमा सहयोग गर्न आम नगरवासीमा अनुरोध गरे । उनले भने, “यो धनगढी विकासको सपना बोकेको आयोजना हो त्यसैले नगरवासीको सपना पनि यस आयोजनासँग जोडिएको छ ।” क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख कडरियाले ठेक्का प्रक्रियामा केही समस्या भएर काममा केही ढिलाइ भएको बताउँदै अब सबै काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि सन् २०१५ मा छुट्टयाइएको रु एक अर्ब ३५ करोड बजेट साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै पुग्ने भएकाले चरणबद्ध रुपमा काम थालेको बताइएको छ । पहिलो चरणमा रु ६८ करोड पाँच लाख ९८ हजार ७०४ को ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ । सम्झौतापत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिनभित्रै शुरु गर्ने र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
आफैँ संरचना हटाउने घरधनीलाई सम्मान गरिने
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने भएको छ । नगर प्रमुख वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र कतिपय निजी संरचना पर्ने भएकाले आफ्नो संरचना आफैँ हटाएर सहयोग गर्ने नगरवासीलाई उपमहानगरपालिकाले सम्मान गर्ने योजना बनाएको बताए ।
उनले भने, “यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडिको भत्काइएको भागमा रङरोगनसमेत गरिने छ ।” एशियाली विकास बैंकको आफ्नै प्रक्रिया रहेकाले आयोजना निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न नगरवासीसँग अनुरोध गरिने उपमहानगरपालिकाले जनाएको छ
प्रतिक्रिया