पहिराले २७ घर विस्थापित

सोमबार, २९ असार २०७७, १२ : ३१

अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ को दुई घर पहिराले बगाएको छ । 

पहिरोले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताए । 

त्यस्तै, शिरमणि भट्टराई, दिपेश भट्टराई, एकमाया दुरा, र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीय पौडेलको भनाइ छ ।

एक्साभेक्टरले पहिरो हटाउने कार्य गरिरहेको छ । 

सो वडाका रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
 
सो क्षेत्रका विभिन्न घर तथा बस्तीहरु जोखिममा रहेको र विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । 

सो क्षेत्रमा प्रहरी र स्थानीय मिलेर स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ ।

सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले  विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ ।

सोमबार, २९ असार २०७७, १२ : ३१

प्रतिक्रिया