गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

आइतबार, ०४ साउन २०७७, ११ : ४६

गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । 

गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै  माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । 

“सडकदेखि करीब ७०÷८० मिटर माथिदेखि पहिरो खसेको छ”, उनले भने, “पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।” 

अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो । 

“अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ”, प्रमुख ढकालले भने, “आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।” ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ । 

आइतबार, ०४ साउन २०७७, ११ : ४६

प्रतिक्रिया