ठूलीगाड नदीमा माछा बढे

बुधबार, ०७ साउन २०७७, ११ : ३९

कैलाली र डोटीको सीमा भएर बग्ने  ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ । जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो । 

कैलाली र डोटीका दुई–दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन् । नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताउनुभयो । ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द लगाउँदा माछाका प्रजातिको  सङ्ख्यामा वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ ।
 
स्थानीय तहले जलचर संरक्षण ऐन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गरी कानूनविपरीत माछा मारे कारवाही गर्दै आएका छन् । ती गाउँपालिकाहरुले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन् । गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानून बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको चुरे गाउँपालिका–१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए । 

उनका अनुसार जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजातिको  सङ्ख्यामा वृद्धि भएको पाइएको छ । संरक्षणको जिम्मा स्थानीयवासीलाई नै दिएपछि सहज भएको जनाइएको छ । 

ठूलीगाड जलाधार क्षेत्रमा आगामी भदौदेखि संरक्षण सूमहले निश्चित रकम लिएर माछा मार्न दिने भएको छ । माछा मार्दा करेन्ट, विष तथा महाजालको प्रयोग गर्न नपाइने भगतपुर जलचर संरक्षण समूहका संयोजक हेमबहादुर भाटले बताए । उनले जालको प्रयोग गरेर मात्र माछा मार्न दिइने बताए । 
 

बुधबार, ०७ साउन २०७७, ११ : ३९

प्रतिक्रिया