पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।
सडक मर्मतका लागि शुक्रवार र शनिवार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।
साथै बिहीवार साँझदेखि नै अवरुद्ध भएको डुम्रे–दमौली सडकखण्डमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए। “वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो”, उनले भने ।
घर क्षति भएकालाई राहत
बन्दीपुर गाउँपालिकाले बाढीपहिराबाट घर क्षति भएकालाई राहत दिने भएको छ । केही दिनदेखि परेको वर्षापछि आएको बाढी र पहिराले पूर्ण र आंशिकरुपमा घर क्षति भएकालाई गाउँपालिकाले राहत दिने निर्णय गरेको हो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पूर्णरुपमा घर क्षति भएकालाई प्रति घर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रतिघर १० हजार रुपैयाँका दरले राहत दिइने जानकारी दिए। गाउँपालिकाका अध्यक्ष थापाका अनुसार बाढीले खेत बगर भएका किसानलाई प्रतिरोपनी दुई हजार रुपैयाँका दरले राहत दिइनेछ ।
“पहिराले घर पूर्णरुपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ, पूर्ण तथ्याङ्क आइसकेको छैन”, उनले भने, “प्रत्येक वडा कार्यालयमार्फत तथ्याङ्क लिने काम भइरहेको छ ।” अध्यक्ष थापाका अनुसार २० घर आंशिकरुपमा क्षति भएको छ । पहिराबाट विस्थापित भएका छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।
बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेत बगर भएका छन् । बगर भएका खेतको अनुगमन गरी क्षति भएका किसानलाई राहतस्वरुप क्षतिपूर्ति दिइनेछ । “खेतमै पुगेर कति भएको छ, त्यसको निरीक्षण गर्छौं, त्यसपछि कृषकलाई प्रतिरोपनी दुई हजार रुपैयाँका दरले राहत रकम दिन्छौँ”, उनले भने।
वर्षाका कारण बन्दीपुर गाउँपालिकाका सबै शाखा मार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । “यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ,” अध्यक्ष थापाले भने, “शाखा मार्गको हालत पनि उस्तै छ ।”
प्रतिक्रिया