कोरोना प्रभावित युवालाई कृषिका माध्यमबाट स्वरोजगार

शनिबार, १० साउन २०७७, ०८ : ४९

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना प्रभावित युवालाई कृषिमा अभिप्रेरित गर्दै स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रकोपबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताए । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबाली पकेट क्षेत्रको रूपमा घोषणा गर्ने गाउँपालिकाको तयारी छ ।
    
मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने कुँवरले बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उाले बताए ।

“कृषिको आधुनिकीकरणका लागि यान्त्रिक हलो, प्लाष्टिक टनेल र सिँचाइ पाइपका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ”, उनले भने, “फलफूल तथा नगदे बालीका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्न सुन्तला र कागतीका बिरुवामा ५० प्रतिशत अनुदान दिएका छौँ भने अलैँचीका बिरुवामा ७५ प्रतिशत अनुदान दिएका छौँ ।”
    
गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषिउपजलाई बजारीकरणका गर्न ढिकुरपोखरी र नयाँपुलमा कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उनले बताए । ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाको लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाको तयारी छ ।

शनिबार, १० साउन २०७७, ०८ : ४९

प्रतिक्रिया