समयमै उपचार नपाउँदा सुत्केरी भएको छ घण्टापछि मृत्यु

मंगलबार, २० साउन २०७७, ०८ : ५६

कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।

बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो ।

सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।  
    
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए ।

उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।    
    
त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् ।

घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ ।

घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ । 

मंगलबार, २० साउन २०७७, ०८ : ५६

प्रतिक्रिया