नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) मा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्व पश्चिम राजमार्ग तथा भुमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आजदेखि लागू हुने गरी ९ बजेदेखि बिहान ५ बजेसम्म अन्य आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। कोरोना भाइरस फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको पाठकले बताए।
यसैगरी नेपाल–भारत सीमानाकामा गस्ती बढाई अनधिकृत रुपमा हुनसक्ने आवागमनलाई थप कडाइका साथ नियन्त्रण प्रशासनले जनाएको छ । खुला सिमानाका कारण भारतबाट लुकीछिपी आवतजवात भइरहेको छ जसका कारण थप सङ्क्रमणको जोखिम बढेको छ ।
जिल्लामा रहेका शैलुन, ब्यूटीपार्लर बन्द गराउनुका साथै होटल रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, गोष्ठी वा अन्य सामूहिकरुपमा हुने भेला पूर्णरुपमा निषेध गरिएको छ । १२ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका व्यक्ति तथा दीर्घरोगीलाई कोरोना भाइरसको जोखिम उच्च रहेकाले घरबाट ननिस्कन आग्रह गरिएको छ भने अत्यावश्यक कार्यका लागि बाहिर निस्किन परे स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने प्रशासन कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउनका लागि सम्बन्धित सबै निकाय र स्थानीय तहहरुबीच समन्वय गर्न निर्देशन दिइएको छ । साथै मास्क लगाउन प्रेरित गर्ने तथा सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निकाय र स्थानीय तहहरुको समन्वयमा सचेतना अभिवृद्धि गराउनेसमेत निर्णय गरीएको छ । सचेत गराउँदासमेत स्वास्थ्य, सुरक्षाको मापदण्ड उल्लङ्घन गरे जो कोहीलाई पनि जरिवाना गरी सङ्क्रमण रोग ऐनअनुसार कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
प्रतिक्रिया