सुत्केरी व्यथा लागेको चार दिनसम्म पनि हुनसकेन उद्धार

मंगलबार, २७ साउन २०७७, २३ : ०३

हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन । ताजाकोट –१  काँडागाउँकी २३  वर्षीया  विपना खड्कालाई चार दिनअघि घरमै व्यथा लागेका अवस्थामा मैला स्वास्थ्यचौकीमा बोकेर  ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी  छट्पटिएको स्थानीयवासी  धर्मराज जैसीले बताए  ।
    
वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवासमेत राम्रोसँग सञ्चालन नभएपछि जिल्लामा खबर गर्न कठिन भएको जैसीको भनाइ छ  । स्वास्थ्यचौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र शल्यक्रियाका लागि उपकरण नहुँदा समस्या छ ।
      
गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल  भइसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
      
पत्र प्राप्त हुनासाथ हवाई उद्धारका लागि गृह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसंँग उद्धारका लागि पहल भएअनुसार हेलिकप्टरको व्यवस्था हुन लागेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहे पनि त्यहाँ पानी परेका कारण उद्धार हुन नसकेको जनाइएको  छ ।
 

मंगलबार, २७ साउन २०७७, २३ : ०३

प्रतिक्रिया