बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

सोमबार, ०१ भदौ २०७७, ०९ : ०७

बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ ।

विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन शुरु गरेको हो । पुस्तक १०० पूर्णाङ्कको रहेको छ ।

नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए । आगामी वर्ष क्रमशः कक्षा  २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ । बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन् । 

स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालासँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरिएको नगरपालिकाले जनाएको छ । 

कोरोना भाइरसको जोखिमले विद्यालयमा पठनपाठन बन्द भएको अवस्थामा नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन सामग्रीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्ने गरी आवश्यक योजना बनाउनसमेत निर्देशन दिएको छ । 
 

सोमबार, ०१ भदौ २०७७, ०९ : ०७

प्रतिक्रिया