अबको एकसाता काठमाडौंमा गाडी र मोटरसाइकल कारोबार तथा सर्भिसिङ् बन्द

३ बर्ष अगाडि

भोलीदेखि एकसातासम्म काठमाडौं उपत्यकाभित्र गाडी तथा मोटरसाइकलको कारोबार बन्द हुने भएको छ । 

निषेधाज्ञाका कारण काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका गाडी तथा मोटरसाइकलका सम्पूर्ण शोरुम तथा सर्भिस सेन्टरहरु एक हप्ताको लागि बन्द हुने भएपछि कारोबार नहुने भएको हो । 

हिँजो मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज (बुधबार० राति १२ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ । 

जसका कारण भोलिदेखि भदौ २० सम्म सबै किसिमका सवारीसाधनको बिक्री तथा मर्मत केन्द्रहरु बन्द हुनेछन् ।

निशेधाज्ञा थप नगरेमा बन्द भएका सबै शोरुमहरु भदौ ११ गतेबाट मात्र संचालनमा आउने छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले नेपालमा चैत ११ देखि ७ साउनसम्म लकडाउन गरेको  थियो । 

लकडाउन सकिनेवित्तिकै यहाँ गाडी तथा मोटरसाइकलको बिक्री ह्वात्तै बढेको थियो। पछिल्ला दिनमा मोटरसाइकलको विक्री निकै राम्रो भइसकेको थियो भने कार, जीप र भ्यानको बिक्री नियमित समयको झण्डै ६० प्रतिशत हाराहारीमा पुगेको थियो ।  

तर, लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण अत्यधिक बढोपछि सरकारले स्थानीय प्रशासनलाई आवस्यकता अनुसार निषेधाज्ञा गर्ने अधिकार दिएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमण दिनानुदिन बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार निर्णय गरेर आजदेखि लागूहुने गरी निषेधाज्ञा जारी गरेका छन् । 

लकडाउनमा ठप्प भएर खुलेपछि चम्कन थालेको व्यापार ठप्प हुने भएपछि अटोमोवाइल ब्यवसायीले निषेधाज्ञाको बिरोध गरेका छन् । 

सबैलाई जागरुक गर्दै व्यवसाय संचालनलाई निरन्तरता दिनु पर्नेमा सरकारको घरमै मानिसलाई थुनेर संक्रमण रोक्छु भन्ने सोँचले  व्यवसाय कमजोर बन्ने बाहेक अन्य फाइदा नभएको नाडा अटोमोवाइल्स एसोशिएसन आफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाले गुनासो गरे । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया