कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो ।
सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ । भन्सारले साउनका लागि ३६ लाख ३९ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा दुई करोड नौ लाख १४ हजार रुपैयाँ सङ्कलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए । ‘‘भन्सार छली, चोरी पैठारी कम भएको छ’’, भन्सार अधिकृत चौरसिया भन्छन्, ‘‘दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन बढेको हो ।’’ चौरसियाले नाकामा खुलारुपमा आवतजावत बन्द भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व वृद्धिमा थप सहयोग पुगेको बताए ।
दुई वर्षअघि स्तरोन्नति भएको सत्ती भन्सारले गत आवभरिमा पाँच करोड ८० लाख ७ हजार रुपैयाँ मात्रै राजश्व उठाएको थियो । यस वर्ष ६ करोड सात लाख रुपैयाँको लक्ष्य राखेको छ । ‘‘साउन महिनामा भन्सारबाट चामल धेरै निर्यात भएको छ’’, चौरसियाले भन्नुभयो, ‘‘यसपटक कपडा, मोटर पार्टस् र हार्डवेयरका सामान धेरै आएका छन् जसले राजश्व बढेको छ । प्रहरी, प्रशासनको यस्तै सहयोग रहे तीन महिनामै वार्षिक लक्ष्य पूरा गर्न सक्छौँ ।’’
कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । साउन महिनामा ४८ करोड ३२ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा ५७ करोड ७२ लाख रुपैयाँ राजश्व उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिए ।
लामो समयको लकडाउनले रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उनी बताउँछन् । ‘‘यो अवधिमा चामल, गहुँ, पापड भुजिया, दालमोठ जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ ।’’ यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्यभन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ । साउनका लागि रु ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा ६९ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिए
प्रतिक्रिया