उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

शनिबार, ०६ भदौ २०७७, ११ : ४७

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । 

चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन ।

 भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उनको पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उनले बताए ।

अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

 सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना सङ्क्रमण देखिने क्रम बढेको छ । 
 

शनिबार, ०६ भदौ २०७७, ११ : ४७

प्रतिक्रिया