पीसीआर परीक्षणको शुल्क मनपरी

३ बर्ष अगाडि

निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म असुलेको भेटिएको छ ।
पीसीआर गराउन आवश्यक पर्ने भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट र अन्य खर्च बजार मूल्यअनुसार बढीमा २ हजार ५ सय मात्रै पर्छ । तर, सरकारले पीसीआर गर्न ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । सरकारले पीसीआर गराउने शुल्क नघटाउँदा निजी र सरकारी अस्पतालले समेत पीसीआरलाई नाफा कमाउने आधार बनाइरहेका छन् । 

धापासीको ग्रान्डी अस्पतालले ७ हजार ५ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क लिने गरेको छ ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले पनि भर्ना हुने बिरामीसँग ७ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्ने गरेको छ । स्वाब संकलन गरेर अनुमति प्राप्त अस्पतालमा पीसीआर गराउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको शुल्कमा १० प्रतिशतसम्म बढी लिन पाइन्छ । मेडिसिटी अस्पतालले पीसीआर परीक्षण गर्न नेपालीसँग ६ हजार रुपैयाँ र विदेशीसँग ७ हजार रुपैयाँ लिने गरेको छ । 
पाटन, वीर र त्रिवि शिक्षण अस्पतालले कोरोनाको लक्षण भएका बिरामीसँग पनि शुल्क लिएर मात्रै पीसीआर गराउँदै आएका छन् । स्रोतका अनुसार वीरले २ हजार ५ सय जनाभन्दा धेरैको ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर पीसीआर गर्दा करिब १ करोड ४० लाखभन्दा बढी उठाइसकेको छ । पीसीआर गर्न भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट सरकारले उपलब्ध गराउने गरेको छ ।
शिक्षण अस्पतालमा स्वाब दिनुअघि नै ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया