कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा

आइतबार, १४ भदौ २०७७, ११ : २०

रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ ।

नीलकण्ठ नगरपालिका–३ मा रहेको नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिएका छन्।

एक महिनाअघिदेखि युरिया नामक रासायनिक मल अभाव खेपिरहेका किसान मल लिनका लागि सहकारीले मल वितरण गर्ने क्षेत्र अगाडि भीड लागेका थिए । कोरोना भाइरसको जोखिमको समय भएको बेला भए पनि ठूलो सङ्ख्यामा किसान र व्यापारी जम्मा भएर मल बिक्री गरिएको थियो ।

एकै स्थानमा धेरै मानिस भीडभाड गर्दा कोरोना सर्छ भन्ने डर भए पनि किसान धान फलाउने अभिलाषाले कोरोनाको डर नमानी मल लिन आएका थिए । मास्क नलगाई लाइनमा तीन÷चार घण्टा बसेका किसानले एक बोरा मल तीन जना किसानका लागि पाएपछि किसान मल लिएर घर फर्किएका छन् ।

मल लिन आएका आधाजसो किसानले मल नपाएपछि रित्तै घर फर्किन बाध्य भएको गुनासो गरेका छन् । निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिस भीडभाड गरेर मल वितरण गरिएको भए पनि अत्यावश्यक किसानसम्म रासायनिक मल नपुगेको किसानको गुनासो छ । सीमित मात्रामा मल आएका कारण कतिपय किसान खाली हात फर्कनुपरेको थियो ।

प्रत्येक वर्ष खेतीपातीको याममा किसानले मलको अभाव खेप्दै आइरहेका छन् । धादिङमा यही अवधिमा तीन हजार ९०० मेट्रिक टन मल आवश्यक रहेको नेपाल खाद्य संस्थान गजुरीले जानकारी दिएको छ ।
 

आइतबार, १४ भदौ २०७७, ११ : २०

प्रतिक्रिया