पाल्पाको रामपुरमा सञ्चालित फुड बैंकमार्फत अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन् । जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिममा लागु गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरीब र विपन्न वर्गका नागरिकका लागि फुड बैंक स्थापना गरी खाद्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष खिमबहादुर केसीले बताए ।
पहिलो चरणको कार्यक्रमका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, सामाजिक व्यक्तित्व, जनप्रतिनिधिलगायतबाट रु एक लाख ९० हजार सङ्कलन भई राहत वितरण गरिएको आर्थिक समितिका संयोजक दीपेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
निषेधाज्ञा लागु भएपछि काम नै बन्द हुन पुग्दा बिहान साँभmको हातमुख जोर्न समस्यामा परेका बेला खाद्य सामग्री पाएपछि राहत पुगेको प्रेम थपलियाले बताए ।
धान बालीमा गबारोको प्रकोप
धान बालीमा गवारो रोगले सताउन थालेपछि कृषक समस्यामा परेका छन् । यस वर्ष समय अनुकूल भएकाले राम्रो धान उत्पादन हुने आशा गरेका कृषकलाई बालीमा गबारोले सताएपछि उत्पादन घट्ने चिन्ताले सताएको छ ।
गवारो लागेपछि रामपुर नगरपालिका –६ विजयपुरका कृषक हरिप्रसाद गैरे चिन्तित हुनुहुन्छ । उनको सात रोपनी खेतमा लगाइएको सबै धानमा गबारोको प्रकोप देखिएको छ ।
यसभन्दा अघिल्ला वर्ष कृषकले सावित्री, हाइब्रिड, रामधान जस्ता धानको बीउ लगाउँदै आएका थिए । धानको मूल बीउ उत्पादनका लागि प्रदेश नम्बर ५ सरकारद्वारा कोभिड लक्षित कार्यक्रमअन्तर्गत रु एक लाखको सहयोगमा राधा १४ जातको धानको बीउ कृषकलाई वितरण गरिएको थियो ।
मूल बीउ उत्पादनका लागि लगाइएको धान बालीमा गबारोको समस्या देखिएपछि बीउ जोगाउनै मुश्किल पर्ने कृषक लेखनाथ रेग्मी बताउँछन । यहाँ सातबीसे कृषक समूहले आठ वर्षदेखि नै धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ । बीउ उत्पादनका लागि दुई सय रोपनी क्षेत्रफलमा ३६ घरपरिवारका कृषकले लगाएको धानमा गबारोको प्रकोप देखिएको समूहका अध्यक्ष धर्मराज ढकाल बताउँछन ।
नगरपालिकाभित्र राधा १४ र सावित्री जातका धानमा बढी गबारोको समस्या देखिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनका अनुसार विशेष गरी धानको बीउ उत्पादन क्षेत्र र स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित क्षेत्रमा लगाइएको धानमा गबारोको प्रकोप बढी देखिएको पाइएको छ ।
धानको ब्याडदेखि नै गबारोले सताउने हुँदा शुरुमा नै पहिचान गर्न सकियो भने रोगबाट धानबाली बचाउन सकिन्छ । गबारो रोग नियन्त्रणका लागि बजारमा आएका विभिन्न विषादी प्रयोग गर्न कृषि शाखा प्रमुख पाण्डेयले अनुरोध गरे ।
नगरपालिका क्षेत्रमा पन्ध्र दिनअघिदेखि गबारोले सताएको छ । धानबालीमा आवश्यक पर्ने सूक्ष्म तत्वको कमीका कारण गबारोको समस्या निम्तने गर्छ । रामपुरबाहेक अन्य कुनै पनि स्थानमा गबारोको समस्याबारे कार्यालयमा हालसम्म जानकारी नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका बागबानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
उनका अनुसार गबारोको प्रकोप बढ्दै गएमा ज्ञानकेन्द्रले स्थलगत रुपमा आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरी उपचार पद्धतिबारे कृषकलाई जानकारी दिनेछ । धानको तलको भागमा सानो सेतो खालको कीरा शुरुमा लाग्छ । पछि लामो हँुदै ठूलो पुतली बनेर सताउँछ । यसले धानको गुबो नै काटेर खाइदिने र उत्पादनमा ठुलो नोक्सान पु¥याउने हँुदा पहिले नै सतर्क रहन कृषि प्राविधिकले आग्रह गरेका छन् ।
प्रतिक्रिया