परिक्षा नदिई सिधै स्थायी जागिर माग्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

३ बर्ष अगाडि

सिधै स्थायी र कराको जागिर माग्दै आप्mनै कर्मचारीले लगाएको कृषि तथा बन विज्ञान विश्वविद्यालय चितवनको तालाबन्दी दुई महिनासम्म खुल्न सकेको छैन । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको अगुवाइमा अस्थायी र करार कर्मचारीहरुले विश्वविद्यालयमा साउन १२ गते गरेको तालाबन्दी अहिलेसम्म खुल्न नसकेको हो । 

सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताए ।

उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् ।
   
हाल उपकुलपतिको जिम्मेवारी पाएका डा. शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको तर कर्मचारीलाई स्थायी गर्ने मागहरु सम्बोधन नगरेकोले तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ । 

अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको विश्वविद्यालय पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।  

थपलियाले भने कर्मचारीलाई सिधै स्थायी र करारमा राख्न नीति नियमनले नदिने भएकोले वार्ताका लागि समिति बनाएको बताए । तर आन्दोलनरत कर्मचारीहरु भने वार्तामा बस्न चाहेका छैनन । “नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा. नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुभएको छैन ” उनले भने ।  

सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक काम काज गर्ने गरी जिम्मेवारी पाएका थपलियाले नै उपकुलपतिको काम गर्दै आएका छन् । 
 
विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ । कृषि र भेटेरिनरी सङ्कायमा निमित्तको रुपमा उपकुलपतिको जिम्मेवारी पाएका थपलियाले निमित्त डीनहरु भने नियुक्त गरेका छन् । 

अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन ।  

३ बर्ष अगाडि

प्रतिक्रिया