मृतक कैदी जैसवालको पोष्टमार्टम : रिपोर्टमा कुनै अङ्ग नझिकिएको र चोटपनि नभएको

मंगलबार, १३ असोज २०७७, १४ : १७

केन्द्रीय कारागारका मृतक कैदी रामलखन जैसवालको पोष्टमार्टम रिपोर्टमा कुनै अङ्ग झिकिएको नदेखिएको र चोटपनि नभएको अधिकारीहरुले बताएका छन्।

रुपन्देही घर भएका जैसवाललाई असोज ३  गते राति १० बजेर ५५ मिनेटमा विर अस्पतालले मृतक घोषणा गरेको थियो। 

 पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा ६३ वर्षीय  जैसवालको आँखा, मृगौललगायत कुनै पनि अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताएका छन । उनले भने, ‘ प्रारम्भिक रिपोर्टमा हल्ला भएजस्तो केही पनि देखिएको छैन। अब भिसेरा रिपोर्ट आउन बाँकी छ’, उनले भने।

जैसवालको मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।  तर मृतकका आफन्तले कोरोना पोजेटिभ देखाएर जैसवालको आँखा, मृगौला झिकिएको आशंका गरेका थिए। त्यसपछि सरकारले कोरोना पोजेटेभि देखिएपनि जैसवालको पोष्टमार्टम गर्ने निर्णय गरेको थियो।

असोज ३ गते राती ९ बजे स्वास प्रश्वासमा समस्या देखिएपछि जैसवाललाई सुरुमा कारागारकै अस्पतालमा पुर्‍याएर पछि वीरका लागि रिफर गरिएको थियो। विवादलाई साम्य पार्न जैसवाललाई उपचारका लागि कारागारबाट निकाल्दै गरेको अवस्थाको सिसिटिभी फुटेज पनि सार्वजनिक गरिएको थियो।

 बास्कोटाले अब पीसीआर परीक्षण नभएका कैदीको मृत्यु भए उनीहरुको कोरोना परीक्षण नहुने बताए। ‘ मृत्यु अघि कोरोना परीक्षण नभएका कैदीबन्दीको सोझै पोष्टमार्टम हुन्छ तर कोरोना देखिएर मृत्यु भएको छ भने उनिहरुको पीसीआर परीक्षण हुन्छ’, उनले भने। केन्द्रीय कारागारले भिसेरा परीक्षणको रिपोर्ट नआउँदासम्म जैसवालको शव अस्पतालमै रहने बताए।

मंगलबार, १३ असोज २०७७, १४ : १७

प्रतिक्रिया