गृहमन्त्री रामबहादुर थापाले बलात्कारसम्बन्धी घटनाबारे बुधवार दिएको एउटा अभिव्यक्तिबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
दुई वर्षअघि संसद्मा बोल्दै गृहमन्त्री थापाले बलात्कारका घटना रोक्न वर्तमान सरकारसँग स्पष्ट नीति रहेको र त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वैदैशिक रोजगारीका क्रममा नेपाली महिलाविरुद्ध हुने गरेका यौन हिंसा र निर्मला पन्त हत्या प्रकरणबारे बोल्दै उनले भनेका थिए, 'अहिलेको सरकारले यसलाई रोक्ने प्रयास गरेको छ। यो सरकारसँग त्यस्तो किसिमको भिजन छ, नीति छ र नेतृत्व पनि छ। र, हामी यसलाई रोक्छौँ।'
तर बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बलात्कारका घटनाबारे उनले दिएको अभिव्यक्तिले धेरै चर्को आलोचना निम्त्याएको छ।
थापाले भने, 'झन्डै सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन। न्यूनीकरण गर्ने सन्दर्भमा सरकारको तर्फबाट प्रयासहरू भएका छन्।'
'‘सवा दुई सयमध्ये हाम्रो स्थान पछाडि आउँछ। पछाडिबाट हेर्दा हामी टप १५ भित्र छौँ भन्ने कुरा विश्लेषणबाट देखिन्छ भने हामीभन्दा अगाडि विकसित मुलुकहरू अमेरिका, दक्षिण अफ्रिका देखिन्छन्,' गृहमन्त्रीले थपे।
सामाजिक सञ्जाल ट्विटरमा गृहमन्त्री थापाको अभिव्यक्तिको अधिकांश प्रयोगकर्ताले आलोचना गरेका छन्।
ट्विटरमा सरोज कोइरालाले गृहमन्त्री थापालाई कस्तो अवस्था भए चिन्ताजनक हुन्छ भनी प्रश्न गरेका छन्।
'गृहमन्त्री रामबहादुर थापाज्यूसँग सम्मानपूर्ण रूपमा सोध्न चाहन्छु बलात्कारको कस्तो अवस्था चैँ चिन्ताजनक हुन्छरु कुन अवस्था नआउँदासम्म तपाईँहरू कानमा तेल हालेर बस्नुहुन्छरु अनि कस्ता खानेकुरा खायो भने यस्ता सोचाइ आउँछन्रु कृपया झर्को नमानी बताइदिनुहुन्छ कि?'
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पदमा बस्ने व्यक्तिहरू आफ्नो अभिव्यक्तिबारे सजग हुनुपर्ने सुझाएका छन्।
उनले ट्वीट गरेका छन्, 'प्राप्त जिम्मेवारीमा क्षमता/योग्यता त देखिएकै छ। पदमा बसेकाहरूले अन्टसन्ट मात्रै नबोलिदिए सार्वजनिक आलोचना अलिकलि कम हुन्थ्यो कि?'
उषाकिरण तिम्सिनाले बलात्कारजस्तो घटनामा असंवेदनशील कुरा गर्ने छुट नभएको टिप्पणी गरेकी छन्।
'....बलात्कारको विषयमा यति असंवेदनशील बन्ने छुट गृहमन्त्रीलाई छैन,' उनले लेखेकी छन्।
प्रतिक्रिया