सरकारले लामो दूरीको सवारीसाधन सञ्चालनमा लगाएको प्रतिबन्ध असोज महिना सुरु भएदेखि हटाएसँगै एउटा जिल्लाबाट अर्को जिल्ला जाने क्रम बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।
दशैँका लागि प्रायः मानिसहरू घर जाने चलन रहिआएकोमा सामान्य अवस्थामा जस्तै यसपालि पनि आउजाउ धेरै भए कोरोनाभाइरस सङ्क्रमण अझ बढी फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञले सचेत गराएका छन्।
एकथरीले अहिले कोरोनाभाइरस महामारीको प्रतिकूल समयमा चाडवाड मनाउने तरिकामा ‘लचिलो’ हुनुपर्नेमा जोड दिएका छन् भने अर्कोथरीले दशैँ मनाउन घर जाने मानिसहरूलाई जनस्वास्थ्यसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्न सुझाएका छन्।
सरकारले यस वर्षको दशैँ 'भएको ठाउ ' मै मनाउन सर्वसाधारणलाई अपील गरेको छ।
यसपालि घटस्थापना कार्तिक १ गते र विजयादशमी कार्तिक १० गते परेको छ।
आइतवार नियमित प्रेस ब्रीफिङका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, “दशैँ अर्को वर्ष पनि आउँछ। यस पटकको दशैँ हामी जहाँ छौँ, त्यहीँ मनाऊँ भन्ने जानकारी गराउन चाहन्छौँ।”
प्रतिक्रिया