भारत लगेर युवती बेच्नेविरुद्ध मुद्धा

आइतबार, २५ असोज २०७७, १८ : ३८

भारतको वेश्यालयमा युवती बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यूरोले मुद्धा चलाएको छ । 

विसं २०७२ मा महिलालाई भारत लगेर बिक्री गरेको भनी प्राप्त उजुरीका आधारमा ब्यूरोले सिन्धुपाल्चोकको मेलम्ची बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई मानव वेचविखनसम्बन्धी मुद्धा चलाएको हो । उनले निम्न वर्गीय परिवारकी २० वर्षिय युवतीलाई आकर्षक तलब आउने जागिर लगाइदिने लोभ देखाएर भारतमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । 

शक्ति समूहको जानकारीका आधारमा खोजी अभियान चलाउँदा उनलाई काठमाडौँको गोकर्णेश्वरबाट शुक्रबार पक्राउ गरिएको हो । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कसुर गरेको आरोपमा उनलाई काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । उनका अनुसार तामाङले २०७२ सालमा महिलालाई बेचेका थिए । विसं २०७६ मा शक्ति समुहको पहलमा महिलाको उद्धार गरिएको थियो । 
 

आइतबार, २५ असोज २०७७, १८ : ३८

प्रतिक्रिया