सामूहिक जडिबुटी खेती

३ बर्ष अगाडि

जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जडिबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् । 

स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रु ६ लाख अम्दानी गरिएकामा यस वर्ष रु १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताए।”अत्तिसको बीउ प्रतिकिलो रु ५० हजार र जरा रु दुई  हजारमा बिक्री हुने गरेको छ । पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जडिबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् ।

माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमीनमा जडिबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताए। उनले भने, “लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔँले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडिबुटी  फर्ममा लगाएका छौँ । सबैभन्दा बढी अत्तिसको बीउ माग  भएको छ । पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ । ”

जुम्ला बहुमूल्य जडिबुटीको खानी भएकाले  सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश  र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् ।

पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक रु ५०० कमाइ गर्ने युवाले गाउँमै बसी जटिबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताए । सो जडिबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले रु १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया