तोकिएको भन्दा बढी भाडा लिने ४४ बस र ६६ ट्याक्सिलाई कारवाही

बुधबार, २८ असोज २०७७, २१ : ३९

ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा लिने बस र मिटरमा हिँड्न नमान्ने ट्याक्सिलाई कारवाही गरेको छ । 

अनुगमन गर्दा बढी भाडा लिएको र सिट क्षमताभन्दा बढी यात्रु राख्ने फेला पारेपछि केही दिनयता ४४ वटा बस र ६६ वटा ट्याक्सिलाई कारवाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

छोटो दुरीमा यात्रु लिन इन्कार गर्ने ट्याक्सिलाई ग्राहकको हुलियामा हिँड्ने ट्राफिकले कारवाहीको दायरामा ल्याउने महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताएका छन । उनले भने, ‘चाडपर्व लक्षित योजना सहित सादा पोशाकमा प्रहरी खटाएर बढी भाडा लिने सवारी बिरुद्ध कारवाही अभियान चलाएका छौं ।’ 

उपत्यकाका बसपार्क र मुख्य भिडभाड हुने चोकमा सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गरे नगरेको पनि ट्राफिक प्रहरीले अनुगमन गर्दै आएको छ । 

असोज महिनामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने र मापदण्ड पालना नगर्ने १५ हजार ४ सय ५१ सवारी साधनलाई संझाई बुझाई गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुधबार, २८ असोज २०७७, २१ : ३९

प्रतिक्रिया