कपिलवस्तुमा युरिया मल अभाव

३ बर्ष अगाडि

मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । 

धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । राजपुरका किसान धुव्र यादवले मल नपाएर गंहँु छर्न ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि मालको अभाव भएको छ ।” 

त्यस्तै शिजराज नगरपालिका खरेन्द्रपुरका तुल्सीराम यादवले मल नपाएर गहुँ छर्न नपाएको बताउनुभयो । सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानको भनाइ छ । कृषि कार्यालय तौलिहवाका वासुदेव पौडेलले जिल्लामा डिएपी र युरिया मलको अभाव रहेको स्वीकार गर्दै साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताउनुभयो । कोरोना महामारीका कारण मल आउन ढिलाइ भएको उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र कृषि मन्त्रालयबाट खरिद भई आएमा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताउनुभयो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया