सडक र मोटरेबल पुल अलपत्र

३ बर्ष अगाडि

ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ ।

सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो । 

पुल र सडक बनाउने ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्री सामान आपुर्तिकर्ता र मजदुरहरुलाई तिर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबिहिन भएपछि अलपत्र परेको स्थानीयबासीले गुनासो गरेका छन् । स्थानीय दिपक कार्कीले सम्बन्धित निकाय र आयोजनाको बेवास्ता तथा ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन नगरेकाले सडक र पुल अलपत्र परेको बताउनुभयो । 

“ठेक्काको म्याद गत असोज महिनामै सकिएको छ,” उहाँले भन्नुभयो “कामको प्रगति हेर्दा अझै पनि सम्पन्न होला भन्ने आशा छैन् ।” ४० मिटर लामो र ११ मिटर चौडाई भएको राहुघाटको मोटरेबल पुल बनाउन रु। छ करोड २४ लाख तीन हजार ८२५मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रु।चार करोड ८५ लाख दुई हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ । 

मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । पुलको पिल्लरलाई पुर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ । ठेकेदारलाई फर्काएर अुधरो पुल र सडकलाई पुर्णता दिन ताकेता गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सब–इञ्जिनियर गजेन्द्र राउतले बताउनुभयो । समय हुँदा सम्म पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाउन नसकेर ढिलासुस्ति गरेको ठेकेदारले कोरोनाको जोखिम, लकडाउन र सामाजिक समस्यालाई बाहना बनाएर काम गर्न आलटाल गरेको छ । दुवै योजनामा करिब एक वर्षदेखिनै ठेकेदारले काम गरेका छैनन् । मोटरेबल पुल बन्न ढिलाई भएका कारण गत असारको बाढीले राहुघाटमा बेलिब्रिज बगाउँदा ४५ दिनसम्म बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो । –––

३ बर्ष अगाडि

प्रतिक्रिया