खानेपानी आयोजनाका लागि ट्याङ्की बन्दै

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउन शुरु भएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम निरन्तर अगाडि बढिरहेको छ ।  एशियाली विकास बैंक, नगर विकास कोष, खानेपानी विभाग, पाँचखाल नगरपालिका र उपभोक्ताको लगानीमा निर्माण हुने आयोजनाअन्तर्गत पाँचखाल नगरपालिका– ९ चारपिप्लेमा बन्न लागेको ब्याकवास ट्याङ्की निर्माण गरिने भएको छ । सो ट्याङ्की निर्माणका लागि शिलान्यास सम्पन्न भएर निर्माण प्रक्रिया अगाडि बढेको छ ।

आयोजना सम्पन्न भएपछि चरम समस्या व्यहोर्दै आएका यहाँका बासिन्दाले स्वच्छ र शुद्ध खानेपानी पाउनेछन् । पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सुनकोशीको बिमिरे र  लोपोन्मुख पहरी बस्तीको मुख्य ट्याङ्कीबाट ब्याकवासका रुपमा जम्मा हुने पानी राख्नका लागि निर्माण हुने ट्याङ्कीको स्थानीय बासिन्दा रत्नबहादुर पहरीले बिहीबार शिलान्यास गरेका हुन । निर्माण हुन लागेको ट्याङ्कीको क्षमता एक लाख ५० हजार लिटरको हुनेछ ।

ट्याङ्की निर्माणका लागि शिलान्यास गर्दै पहरीले लामो समयदेखि अभाव झेल्दै आएको खानेपानीको समस्याबाट मुक्त हुन लागेकामा खुशी व्यक्त गरे । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको प्रमुख समस्या खानेपानीको कामसँगै वडा जोड्ने धुले सडकलाई पक्की गर्दै लैजाने योजना अगाडि सारिसकिएको बताए । “खानेपानी र धुले सडकको समस्याले गर्दा नगरवासीले खेप्दै आएको सास्तीलाई समाधान गर्ने कार्यमा नगरवासी एक जुट भएर अगाडि बढ्न आवश्यक छ”, उनले भने, “खानेपानीको आवश्यकता थियो, पूरा हुँदैछ । एक वडा एक पक्की मोटरबाटोको अवधारणा ल्याइएको र धेरैजसो ठाउँमा सडकको कालोपत्र गर्ने कामसमेत शुरु भएको छ ।”

सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सबै राजनीतिक दल र नगरवासीसँग सहकार्य गर्दै निर्धारित समयमा नै योजना सम्पन्न गर्नेतर्फ समिति लागिपरेको बताए । उपभोक्ता समितिका अध्यक्ष लामिछानेले यसअघिको सूचीमा समावेश हुन नसकेर छुटेकाका लागि पुनःसमावेश हुनका लागि आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको बताए ।  त्यसका लागि २०७७ मङ्सिर मसान्तसम्मको अवधि राखी उपभोक्ताका तर्फबाट बुझाउनुपर्ने रकमस्वरुप रु २५ हजार पाँचखालस्थित कृषि विकास बैंकमा रहेको सुनकोशी पाँचखाल खानेपानीको खातामा जम्मा गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

हुवासुई कन्काई जेभीसँग रु एक अर्ब ३४ करोड १० लाख ६५ हजार ६३७ मा ठेक्का सम्झौता भई ३० महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको आयोजना गत असार १५ गतेदेखि शुरु भएको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया