बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

विहीबार, २५ मंसिर २०७७, ०९ : २८

भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ ।

बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ । भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनःनिर्माणले गति लिएको जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनःनिर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनःनिर्माणको प्रगति बढेको हो । 

जिल्लामा पुनःनिर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको घर पुनःनिर्माण र १७१ घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार ३१७ लाभग्राहीले पुनःनिर्माणका लागि र १२५ लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार ५२९ घर पुनःनिर्माण र जम्मा दुई घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिनुभयो । “निजी आवासमा ६६ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएका छन्”, पाण्डेले भन्नुभयो, “सम्झौता गरेका लाभग्राहीमध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७६६ घरले दोस्रो र एक हजार ५२९ घरले तेस्रो किस्ता बुझेका छन् ।” तीमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्नपश्चात्को अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङले जनाएको छ ।  
 

विहीबार, २५ मंसिर २०७७, ०९ : २८

प्रतिक्रिया