न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

शुक्रबार, २६ मंसिर २०७७, १७ : ०७

तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।  आर्थिक वर्ष २०७६/७७ मा  समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन्  ।  अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिए । 

उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन् ।  यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ । एघारउजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उनले बताए । 

घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर–जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् । 

आव २०७५/७६ मा ८१  उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी रहेका थिए  । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए ।

सो  अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, बीस सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ । 

चालू आवामा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ । 
 

शुक्रबार, २६ मंसिर २०७७, १७ : ०७

प्रतिक्रिया