सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम शुरु हुनसकेको छैन ।
कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म शुरु हुनसकेको छैन ।
तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको जिम्मा लिएको थियो । कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक यातायातका साधन मुस्किलका साथ सञ्चालन भइरहेका छन् ।
सडकको सात मिटर चौडाइ बनाएर कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । जेभीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलोमिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमादेखि छेडागाड नगरपालिकाको कार्की गाउँसम्म १८।५ किलोमिटरको अर्को भाग बनाई एकैपटक काम शुरु गरिएको भए पनि अहिलेसम्म कालोपत्र गर्न नसकिएको हो । पहिलो चरणमा रु ४९ करोड २६ लाखमा काम हुनेछ भने अर्को भागमा रु ५० करोड ४७ लाखको काम भइरहेको छ । त्यस्तै कुदुबाट थलहसम्म एकै जेभीले ठेक्का पाएको छ । अहिले मन्ताभिरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ ।
सोभन्दा अगाडि दैलेखको सिमानासम्म ठेक्काको कच्ची काम भइरहेको छ । पचपन्न किलोमिटरभित्र चिसो कम हुनबित्तिकै कालोपत्रको काम शुरु हुने बताइएको छ । पैँतीस किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने अर्को खण्डको २४ महिना बाँकी छ । पाँचथरको चियाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ ।
प्रतिक्रिया