नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन्।
हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन्। करिब दुई दशक लामो पत्रकारिता पेशा उनले परिवर्तन गरेका हुन् । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग आबद्ध भएर उनले जिल्लामा रही पत्रकारिता गरे । उनले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन गरे । तर पत्रकारितामा भविष्य नदेखेर उनले यो पेशा छोडेको बताउछन्।
उनी सहित उनकी श्रीमतीले पनि पत्रकारिता पेशा छोडेकी हुन । उनकी श्रीमती कमला भट्टराई पनि काठमाडौँबाट प्रकाशन हुने नेपाल समाचारपत्रसँगै जिल्लाकै पहिलो दैनिक पत्रिका सन्दकपुरमा कार्यरत थिइन । तर उनीहरु दुवै जना हाल फरक काम गर्न थालेका छन् । कमला हाल सूर्योदय नगरपालिकामा काम गर्न थालेकी छन् ।
विसं २०६५ बाट प्रकाशति जिल्लाकै पहिलो दैनिक पत्रिका बन्द गरेर उनीहरु फरक पेशामा लाग्नुभएको छ । पत्रकारिता धेरै व्यस्त हुने पेशा हो तर उहाँहरुको दैनिकी त्योभन्दा कम व्यस्त छैन अहिले । “पहिलेभन्दा धेरै ब्यस्त भइएको छ”, रोहितचन्द्र भट्टराईले भने । मालपोत कार्यालय इलाममा सेवाग्राहीका लागि उनी खट्छन् । उनलाई पत्रकारिता पेशाप्रति भने सम्मान छ । गाउँगाउँमा गएर रिपोर्टिङ गर्दा आनन्द हुने भए पनि पैसा बचाउन नसक्दा भने घर चलाउन नै समस्या हुने गरेको कमला भट्टराईले बताए।
पत्रकार महासङ्घकै पूर्वअध्यक्ष उमेश गुरुङ पनि हाल समाजसेवा र यससँगै राजनीतिमा लागेका छन् । उनी रेडियो नेपालमा आबद्ध भएर लामो समय काम गरेका थिए । जिल्लाको इलाम एफएममा समेत कुशल प्रस्तोताका रुपमा ख्याती कमाएका उनले हाल सञ्चारमाध्यमको जागिरलाई चटक्कै माया मारेर गाउँमा समाजसेवा तथा राजनीतिकर्मीका रुपमा आफूलाई व्यस्त राखेका छन् । धिरेन चेम्जोङ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य छन् । उन िसमेत जिल्लाका विभिन्न साप्ताहिकसँगै चियाबारी दैनिकको प्रधान सम्पादक समेत रहेर काम गरे ।
उनी पनि हाल राजनीतिमा नै क्रियाशील छन् । इलामकै अर्का पत्रकार विमल वैद्य नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भए । तर उनी पनि हाल पत्रकारितामा सक्रिय छैनन । जिल्लाको शुभप्रभात साप्ताहिकदेखि विभिन्न पत्रिकामा काम गरे पनि उनी हाल सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहेका छन् । साहित्य लेखनमा सक्रिय उहाँको अहिलेको पेशा भने पत्रकारिता होइन ।
नेपाल टेलिभिजनका पूर्वजिल्ला समाचारदाता प्रभाकर प्रधान हाल व्यवसायमा क्रियाशील छन् । उनी जस्तै नुतन रञ्जितकार, मोहनमान श्रेष्ठ पनि हाल पत्रकारिताभन्दा पनि व्यवसायमा नै आफ्नो सबै समय खर्चिन्छन् । महासङ्घका सदस्य भएर पनि मदन कुमार खड्का र उत्तम पौडेल जिल्लामा अधिवक्तारुपमा नै आफ्नो पेशा स्थापित गरिसकेका छन् । होम ढकाल सीमावर्ती क्षेत्रका कार्यरत संस्था माइती नेपालमा आबद्ध छन् ।
प्रतिक्रिया