कोरोनाले स्वदेश फर्कायो, अहिले अटो सहारा

३ बर्ष अगाडि

काठमाडौं- विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उनलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । 

विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो । 

जसोतसो नेपाल फर्किएपछि उनलाई त्यत्तिकै बस्न मन लागेन । आम्दानीको लागि केही त गर्नै प¥यो भन्ने लागेपछि अन्ततः उनले  यात्रुबाहक अटो किने र नगर क्षेत्रमा चलाउन थाले । अहिले त्यसैको आम्दानीले घरखर्च चलाउन सकेको उनको भनाइ छ ।  

पहिलोपटक वैदेशिक रोजगारीअन्तर्गत ओमानमा दुई वर्ष बसेपछि उनी नेपाल फर्किनु भएको थियो । नेपाल फर्केपछि उनले नगरमा इन्टरनेट सेवा प्रदायक संस्थामा काम गरे । तैपनि उनलाई विदेश मोहले भने छाडेको थिएन । ‘‘ओमानमा हुँदा प्रवेशाज्ञाको म्याद नसकिँदै बिरामी भएँ, त्यसपछि जसोतसो म्याद गुजारेर नेपाल फर्किएँ’’, उनले भने, नेपाल फर्किएपछि घरटोलमै पाएको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि उनी फेरि वैदेशिक रोजगारीका लागि कस्सिए र कुवेत पुगे । 

कुवेतमा पुग नपुग दुई वर्ष बस्दा उनी घर फर्किने तयारी गर्दै थिए । त्यहीबीच कोभिड–१९ को महामारी फैलियो । बन्दाबन्दी घोषणासँगै अन्तरराष्ट्रिय उडान बन्द भए र थप सात महिना कुवेतमै अड्किनु प¥यो । ‘‘सात महिनासम्म तलब नपाउँदा एकदमै समस्या भएको थियो, त्यसपछि घरबाट झण्डै रु एक लाख झिकाएर नेपाल फर्किएँ’’, महर्जनले सुनाए । 

महर्जनले अटो किनेर चलाउन थालेको धेरै दिन भएको छैन । केही दिनअघि मात्रै उनले अटो किनेका थिए । अटो चलाउन थालेपछि अहिले उनको दैनिकी फेरिएको छ । बिहान उठ्नेबित्तिकै उनको अटो यात्रा शुरु हुन्छ ।

धेरैजसो थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रमा चल्ने अटो यात्रुको मागअनुसार दामन, पालुङ, टिस्टुङ, चित्लाङ र इन्द्रसरोवरको मार्खु क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । ‘‘अटो किनेर ठीकै गरेछु भन्ने लागेको छ, खाली बस्नु परेको छैन,’’ उनी बताउँछन् । ‘‘अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर रु एक हजार जोगिने गरेको छ ।’’  थाहा नगरपालिकामा अहिले करीब डेढ सय अटो सञ्चालनमा छन् । तीमध्येमा हाल महिला चालक महर्जन मात्र छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया