तरकारीखेती गरेर घरायसी खर्चदेखि श्रीमानको पकेट खर्च सम्म

बुधबार, ०८ पुस २०७७, १५ : ०२

काठमाडौं- शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन । 

तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च चलाउन सहज भएको हो । यसअघि उनको अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथे । त्यसले परिवार खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत बजारबाट खरिद गर्नुपर्ने हुन्थ्यो । छिमेकीले तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उनले पनि तरकारीखेती गर्न थालेका हुन् । तरकारी खेतीबाट अहिले परिवार खर्च धान्न सहज भएको डगौराले बताए । 

“घरायसी खर्च र श्रीमान्लाई आवश्यकपर्ने पकेट खर्चसमेत तरकारीको आम्दानीले धान्दै आएको छ”, उनले भने, “तरकारीखेती गर्ने खेतमा अन्नबाली लगाउँदा घरखर्च चलाउन निकै गाह्रो थियो । हरेक कामका लागि श्रीमान्को मुख ताक्नुपर्दथ्यो । अहिले तरकारी खेतीले दिनचर्या फेरिएको छ ।” श्रीमान्बाट घरखर्च माग्ने महिला उल्टै तरकारीखेती गरेर श्रीमान्कै पकेट खर्च दिन थालेको उनको भनाइ छ । 

मीनाजस्तै पिपलाडी गाउँका करीब ६० महिला तरकारी खेतीमा लागेका छन् । यो खेतीमा संलग्न महिलाले दैनिक नजिकैका बजारमा तरकारी बेचेर रु तीन हजारदेखि पाँच हजारसम्म आम्दानी गर्दै आएका छन् । “विगतमा तरकारीखेती गरे पनि घरकै लागि मात्रै हुँदै आएको थियो । त्यो पनि परम्परागत तरिकाले गरिने हुँदा थोरै मात्रै फल्ने गरेको थियो”, स्थानीयवासी लक्ष्मी चौधरीले भने, “तरकारीखेती गर्ने नौलो तरिका सिक्यौं र चाहे अनुसारकै तरकारीबारीमा उत्पादन गर्न थालेका छौं ।” 

दिनभरि तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुने महिला साँझ नपर्दै तरकारी टिप्नमा व्यस्त हुने गरेका छ । साँझ टिपेको तरकारी टोकरीमा बोकेर बजार र गाउँ चहार्दै बेच्ने गरेका छन् । तरकारी अन्नसँग साटेर र नगदमै पनि बिक्री हुँदै आएको छ ।

विभिन्न सङ्घसंस्थाले बारीमै पुगेर तरकारीखेती गर्ने तरिका, रोगकीरा रोकथाम, खेत तयार गर्ने, बिरुवा रोप्ने र टिप्नेदेखि बजारमा लगेर बेच्नेसम्मका कार्य सिकाएपछि हाल तरकारीखेती गर्न निकै सहज भएको तरकारी खेतीमा संलग्न महिलाको भनाइ छ । बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने भएपछि यस क्षेत्रका किसान महिलाले अहिले बारीमा काउली, रायो, गोलभेडा, बोडीलगायत तरकारी उत्पादन गरी बेच्दै आएका छन् । 

स्थानीयवासी कालुराम चौधरीका अनुसार महिलाले काउली रोपेर मात्रै रु २० हजारदेखि रु ५० हजारसम्म आम्दानी हात पारेका छन् । “ तरकारीखेतीमा संलग्न महिलाले वार्षिक रु पाँच लाखदेखि  सात लाखसम्म तरकारी बेचेरै पैसा कमाउने गरेका छन्”, उनले भने, “हाल काउली रु ९० देखि रु एक सय प्रतिकिलोका दरले र रायो प्रतिमुठा रु ४० मा बिक्री गर्दै आएको छ ।” 

तरकारीखेतीमा लागेका महिलाको दक्षता अभिवृद्धिका लागि तालीमको व्यवस्थासंँगै ४०० घरघुरीमा एक जना कृषि प्राविधिक(जेटिए)को समेत व्यवस्था सहकारी संस्थाले गरेको छ । महिलाले तरकारीबालीमा समस्या आए जेटिएलाई देखाएर समस्या समाधान गर्न थालेका छन् । पहिलेको तुलनामा तरकारीबाली लगाउने तरिकामा परिवर्तन आएपछि पिपलाडी गाउँ तरकारीखेतीका लागि चिनिन थालेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । 

प्रदेश सरकारको मुख्यमन्त्री कृषि कार्यक्रममा यस क्षेत्रका किसानलाई समेटिएपछि तरकारीखेती गर्नेलाई प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि बोरिङ, बीउ खरिद गर्नका लागि रकमको व्यवस्थाले व्यावसायिक तरकारीखेती गर्ने किसानलाई निकै सघाउ पु¥याइएको उनको भनाइ छ । 

पिपलाडी, जोनापुरका १०० भन्दा बढी परिवारले पाँच कठ्ठादेखि एक बिघा खेतमा तरकारीखेती गरेका छन् । एक दशकदेखि तरकारीखेती गर्दै आएका यस क्षेत्रका किसानले पाँच वर्षयतादेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका हुन् । पिपलाडी जोनापुर गाउँमा मात्रै वार्षिक रुपमा रु दुई करोड बढीको तरकारी उत्पादन हुने गरेको छ । यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी स्थानीय झलारी, कलुवापुर, वन समिति, हुँदै कैलालीको अत्तरियासम्म खपत हुने गरेको छ । दैनिक यस क्षेत्रका महिलाले रु एक लाख बढीको तरकारी बेच्दै आएका छन् । 

कञ्चनपुरमा दुई हजार ५५० हेक्टर जग्गामा गरिने तरकारी खेतीबाट ३७ हजार ९९५ उत्पादन हुने गरेको तथ्याङ्क छ ।

बुधबार, ०८ पुस २०७७, १५ : ०२

प्रतिक्रिया