सवारीचालक अनुमतिपत्रका लागि आवेदन खुला

सोमबार, १३ पुस २०७७, ०९ : २५

काठमाडौं- कोरोनाका कारण गतवर्ष चैतदेखि बन्द रहेको  सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला गरिएको छ । 

भोलि (मंगलवार)बाट लाइसेन्सका लागि आवेदन भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना जोखिमका कारण सरकारले गतवर्ष चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियो । गत साउनमा बन्दाबन्दी अन्त्य भएपछि लाइसेन्सका लागि आवेदन खोल्ने तयारी विभागले गरे पनि पुनः संक्रमणको जोखिमका कारण तत्काल आवेदन नखोल्ने निर्णय गरेको थियो ।

मंगलवारदेखि स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागले जनाएको छ । विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको हो । 

सेवाग्राहीले अनलाइनमार्फत फारम भरिसकेपछि मिति तोकेर लिखित तथा ट्रायल परीक्षा गरिने विभागले जनाएको छ । 

सोमबार, १३ पुस २०७७, ०९ : २५

प्रतिक्रिया