एजेन्सी- चीन सरकारले खानेकुराको विषयमा नयाँ नियम लागू गर्ने तयारी गरेको छ । यो विशेषतः होटेल र रेस्टुरेन्टमा लागू हुनेछ ।
अक्सर होटेल तथा रेस्टुरेन्टमा आउने ग्राहकहरूले त्यतिकै खाना छाडेर जाने गरेपछि सरकारले यस्तो नियम ल्याउन लागेको हो ।
ग्राहकले नियम तोडेमा होटेल मालिकले समेत जरिवाना तिर्नुपर्नेछ । चिनियाँ राष्ट्रपति सी जिङ पिनले सर्वसाधारणप्रति खाना सञ्चित गर्नुपर्ने भावना उत्पन्न गराउन ‘अपरेसन इम्प्टी प्लेट’ अर्थात् खाली प्लेट नामको अभियान घोषणा गरेका छन् ।
राष्ट्रपति सीको नीतिअनुसार अबदेखि जति खाने हो, त्यति मात्र अर्डर गर्नुपर्छ । सम्भवतः जनवरीदेखि नै रेस्टुरेन्ट तथा होटेलमा खाना फ्याँक्ने ग्राहकले जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
अरूले पनि खान बाँकी छ र उनीहरूको भाग पनि बचाउनुपर्छ भन्ने सन्देश दिन नयाँ नीति लागू गर्न खोजिएको हो ।
यदि यो नियमभन्दा बाहिर गएर खाना आधा वा थोरै मात्र प्लेटमा बाँकी राखेमा ती व्यक्तिले १० हजार युआन तिर्नुपर्ने हुन्छ ।
चिनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने यतिवेला चीनमा खाद्यान्नको चर्को अभाव छ ।
चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको खाना अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन् ।
कोरोनाका कारण खाद्यान्न अभाव भएको भनिए पनि चिनियाँ मिडियाले भने कोरोनाका कारण मात्र अभाव भएको विश्वास गरेका छैनन् । उनीहरूले छिमेकी राष्ट्रहरूसँगको चिसिएको सम्बन्धले यस्तो समस्या उत्पन्न भएको दाबी गरेका छन् ।
तर, कुन–कुन सहरमा खाद्यान्न अभाव भएको भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया