ताप्लेजुङ- नियन्त्रणमा आउँदै गरेको प्रसिद्ध तिर्थस्थाल ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ।
आइतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आंशिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो। तर, सोमबार बिहानदेखि फेरि आगो सल्किएको हो।
अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रूख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरीलगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिए ।
फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्मु सामुदायिक वनबाट सल्किएको आगो नियन्त्रणमा लिन चार दिनदेखि स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएका छन्।
आगलागी क्षेत्र मुख्यगरी लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिएको छ। आगलागीले बहुमूल्य जडीबुटीका बोटविरुवा नष्ट भएका छन्। यद्यपि, क्षतिको विवरण आउन सकेको छैन।
आगलागीको कारण पनि खुल्न सकेको छैन् ।
प्रतिक्रिया