निर्माण सामग्री अभाव कारण सडक निर्माणमा बाधा

बुधबार, १५ पुस २०७७, १० : ३७

काठमाडौं- सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ । 

काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ । निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । 

उ्नका अनुसार निर्माण सामग्री कुन–कुन स्थानमा र कसरी निकाल्ने भनी कार्यविधि बनिरहेको बताए । उनले भने, “त्यो आएपछि मात्रै सडक निर्माण सञ्चालन हुनसक्छ ।”

निर्माण सामग्रीको अभाव झण्डै दुई महिना पहिले शुरु भएको हो । निर्माण सामग्री अभावले काठमाडौँ उपत्यकाका विस्तारित र निर्माणका क्रममा रहेका सडक अवरुद्ध बनेको विभागले जनाएको छ । 

कतिपय सडक पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सामग्री नहुँदा नसकिने अवस्था आएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

काठमाडौँ उपत्यकामा मात्रै ढुङ्गाखानी बन्द भए काभ्रेपलाञ्चोक वा धादिङको विकल्प खोज्न सकिने भए पनि देशभर ठप्प भएकाले निर्माण अघि बढाउन नसकिएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने, “एक–दुई हप्तामा सकिने काम पनि उसै रहेको छ ।”

लामो समयसम्म कोभिड–१९ को सङ्क्रमणका कारण सडक निर्माणमा असर गरेकामा सङ्क्रमण कम हुँदै गर्दा देशभर निर्माण अघि बढिरहेको थियो । 

गत आवमा नै सम्पन्न गर्ने लक्ष्य राखिएका सडकमध्ये कतिपय कोभिडकै कारण सम्पन्न हुन सकेनन् । अहिले ती सडकको निर्माण अघि बढाइएको भए पनि निर्माण सामग्री अभावको समस्या थपिएको छ । 

निर्माण सामग्रीको अभाव राष्ट्रिय राजमार्गदेखि स्थानीय सडक निर्माणमा समेत पर्न थालेको देख्न सकिन्छ ।

बुधबार, १५ पुस २०७७, १० : ३७

प्रतिक्रिया