सरकारले निजी क्षेत्रलाई व्यवसायिक पार्टनरको रुपमा नहेरे सम्म लगानी विस्तार हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल

बुधबार, १५ पुस २०७७, १८ : ००

काठमाडौं- निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । 

पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलको कोरोना कालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् ।

मलेशियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने पनि बताए ।  

देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए ।

कोरोनाको सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोरोनाले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको पनि बताए ।  

मुलुकलाई आर्थिक विकास तथा सम्मृद्धिको बाटोमा अगाडि बढाउन पहिले कोरोनाबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि सरकारले विशेष कदम चाल्नु जरुरी रहेको बताएका छन् ।

सोमबारदेखि सुरु भएको नवौं आइएमई लिटरेचर फेस्टिभल बुधबार सम्पन्न हुँदै छ । 

बुधबार, १५ पुस २०७७, १८ : ००

प्रतिक्रिया