पाथीभरा क्षेत्रमा डढेलो : रेडपाण्डा संकटमा, झण्डै १२५ हेक्टर वनक्षेत्र जलेको अनुमान

विहीबार, १६ पुस २०७७, १० : १०

ताप्लेजुङ- ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट भएको छ । 

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप भएको रेडपाण्डाको संरक्षणका लागि काम गर्दै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । 

साथै डढेलो लागेपछि रेडपाण्डा संकटमा परेका पनि मञ्चले जनाएको छ । सात दिनअघि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको झण्डै १ सय २५ हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयको अनुमान छ । 

हिउँ वा पानी नपरेसम्म आगो निभाउन सक्ने अवस्था नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइले बताए । 

हेलिकोप्टरबाट पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि त्यो सम्भव नभएको बताइएको छ । अहिले पनि स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

विहीबार, १६ पुस २०७७, १० : १०

प्रतिक्रिया